काठमाडौं, जेठ ३२ ।
सत्तारुढ दल नेकपाका सांसद रामवीर मानन्धरले सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गनुभएको छ । आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाले गुठी प्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सन्चारमन्त्रीको राजीनामा माग्नुभएको हो ।
सांसद मानन्धरले सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको भन्दै सन्चारमन्त्रीले कि क्षमा माग्नुपर्ने कि राजीनामा दिनुपर्ने बताउनु भयो । उहाले गुुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिर समेत गर्नुभएको छ ।
कार्यक्रममा कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताउनु भएको छ । गुठी विधेयककै कारण संघीयता समेत धरापमा परेको भन्दै उहाले प्रधानमन्त्री नै संघीयता विरोधीका रुपमा देखापरेको जिकिर गर्नुभएको छ ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको भन्दै गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै उचित निर्णय लिन सुझाव दिनुभयो ।