काठमाडौ, ३० जेठ ।
सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढाएको हो ।
काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको छ ।
स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैयाँ रहेकोमा अब यात्रुले १६ रुपैयाँ तिर्नु पर्ने छ ।
यस्तै विभागले ट्याक्सीको भाडा प्रणाली नै परिवर्तन गरेको छ । यात्रुले एक किलोमिटरसम्म यात्रा गर्दा तिर्दै आएको न्यूनतम भाडा दरमा सामान्य सस्तो पर्ने महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि चढ्नेबित्तिकै ट्याक्सीको मिटरमा १४ रुपैयाँ उठ्ने भएकाले एक किलोमिटरको भाडा ५३ रुपैयाँ यात्रुले तिर्दै आएका थिए ।
नयाँ प्रणालीअनुसार एक किलोमिटरसम्मको ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
एक किलोमिटरभन्दा लामो यात्रा गर्दा यसअघिको तोकिएको पल्समा २५ पैसा वृद्धि गरिएको महानिर्देशक दाहालले बताउनु भयो ।
उहाँले २०६९ सालमा वैज्ञानिक भाडादर लागू भएपछि मूल्य समायोजन गरिएको बताउनु भयो । तर, गत वर्षको दसैं अगाडि यातायात व्यवसायीको दबाबमा सरकारले १० प्रतिशत भाडा बढाएको थियो ।