कास्की, जेठ २६ ।
नेपाल कम्युनिस्ट पार्टीले बैठक स्थलबाट आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति आपत्ती जनाएको छ ।
संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीले आपत्ति प्रकट गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीका इन्चार्ज रुपेशले आज प्रेस विज्ञप्ति जारी गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण तरीकाले बिना हातहतियार जम्मा भएर बैठक गरिरहेको अबस्थामा गरिएको गिरफ्तारीको घोर भत्र्सना पनि गर्नुभएको हो ।
विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासीवादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवा स्वप्न देख्दै व्यापक दमनमा उत्रिएको भन्दै उहाँले विज्ञप्तीमार्फत विरोध गर्नुभएको छ ।
नेकपाले विज्ञप्ती मार्फत ‘सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार गरेका आफ्ना नेता तथा कार्यकर्तालाई निःशर्त रिहाईको माग गरेको छ । गिरफ्तार परेकाहरुलाई निशर्स रिहा नगरे राजनीतिक स्वतन्त्रताको सुनिश्चितता नभए र जनदमन जारी रहे थप संघर्षमा जान बाध्य हुने समेत विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
प्रहरीको गिरफ्तारीमा पर्नेहरूमा नेकपा कास्की सेक्रेटरी आक्रोश, नेकपा कास्कीका जिल्ला सदस्य एवम् एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी) पीएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, विद्यार्थी नेता एवम् सहिदपुत्र सुजन सापकोटालगायत छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको छ ।
