काठमाडौं, २४ जेठ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनीहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
शुक्रवार बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधिश इश्वर खतिवडा र तेज बहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले बन्दीद्वयलाई थुनामा राख्नुपर्ने कुनै आधार र कारण नभएको भन्दै रिहा गर्न आदेश दिएलगत्तैरिहा भएका उनीहरुलाई प्रहरीले पुन नियन्त्रणमा लिएको हो ।
५२ वर्षीय चुडामणि र ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
आज रिट निवेदनका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए । साविकको ठेगाना जिनवाङ गाविस भई हाल गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा आदर्श र विश्व दाजुभाई हुन् ।
आदर्श, विश्व र नेकपाका अर्का केन्द्रीय सदस्य चद्रबहादुर खड्का ‘असल’लाई सहित तीन नेतालाई गत बैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।
तर असललाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै सर्बोच्चले यहि जेठ ७ गते रिहा गरेको थियो । रिहा लगतै असललाई पनि पुनः गिरफ्तार गरेर सुनसरी पुर्याईएको छ । नेता आदर्श र विश्वलाई पनि सुनसरी नै लैजाने तयारी गरिएको बुझिएको छ ।
सरकारले गत फागुन २७ गते ने.क.पा.माथि प्रतिबन्ध लगाएपछि गिरफ्तार परेका सो पार्टीका नेता कार्यकर्तालाई आदालतले रिहा गरेपनि प्रहीले पुनः गिरफ्तार गर्ने श्रृखला नै चलेको छ । अहिलेसम्म केन्द्रीय स्तरको नेता सहित सयौ नेता कार्यकर्ता प्रहरी हिरासतमा छन् । कतिपयलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ भने कतिपयलाई हिरासतमै राखिएको छ ।