२१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डका बिषयमा अझै सहमती हुन सकेन । सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई पटक बैठक बसेर सहमतीको प्रयास गरेपनि सफल हुन नसकेको नेताहरुले बताएका छन् ।
सचिवालय बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवादमा सहमती जुट्न सकेन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल बनाउने पक्षमा रहेको स्रोतले जनाएको छ । प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउँदा यो मान्यता खण्डित भइसकेको तर्क गरेका छन् ।
तर माधवकुमार नेपासहितकका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् । प्रदेश इञ्चार्जहरु तोक्ने क्रममा निर्णय भइसकेकाले स्वीकार गरेको भन्दै उनीहरुले अहिले जिम्मेवारी तोक्न नै बाँकी रहको तर्क अघि सारेका छन् ।
सचिवालय बैठक भोलि फेरि बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले छलफललाई भोलि पूर्णता दिएर जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोकिने जनकारी दिए ।