मोरङ, जेठ २१ ।
संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ ।
गृहमन्त्रीको निर्देशनमा लामो समयदेखि बस्दै आएका सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक खटाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
कोइराला निवास प्रजातन्त्रवादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व हुने बताउदै मेयर पराजुलीले त्यसको सुरक्षाका लागि २ जना नगररक्षक आजदेखि खटाएको बताउनुभयो ।
उहाँले कृष्ण प्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता राजनीतिक व्यक्तित्वको कुञ्जको रुपमा रहेकोले राज्यले यसको संरक्षण गर्नु पर्नेमा संघीय सरकारले सशस्त्र प्रहरीलाई हटाउनु नै दुस्खद रहेको बताउनुभयो ।