काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।
उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।
एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो ।
उता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो रहेको बताएका छन् ।
सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको भन्ने समाचार बाहिर आएकोप्रति उहाँले आश्चर्य र आपत्ति जनाउदै यो झुठ भएको बताए । मिर्मिरे अनलाईनसँग कुरा गर्दै प्रजिअ रानाले बिभिन्न मिडियामा आएकाे विप्लवका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्नेबारे समाचार झुठो र गलत भएको बताए । उनले भने, प्रहरी चौकिमा आक्रमणको प्रयास भएको छैन, यो गलत र झुठो समाचार मिडियामा आईरहेका छन् । कोहि पनि भ्रममा नपर्नुहोला ।
यस्तो झुठो समाचार अहिले भाईरल भएके भन्दै प्रजिअ रानाले थपे, चौकी आ्रकमणको प्रयास भको भनेर गाउँमा कस्ले हल्ला गरिदियो । त्यहि हल्लाको भरमा मिडियाले समाचार बनाईदिए ।
उनले सेना परिचालन पनि नभएको बताए । प्रजिअ रानाले नेकपा कार्यकर्ताको गतिविधिभने बढेको बताए । उनले भने, ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो । नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो ।’
उनले अहिले प्रहरीले सुरक्षा सतर्कता बढाएपनि सेना परिचालन पनि नगरिएको बताए । बिभिन्न सन्चारमाध्यमहरुले भने विप्लव नेकपाका कार्यकर्ताले चौकि कब्जा गर्ने उदेश्यले आक्रमणको प्रयास गरेको र सेना समेत परिचालन गरिएको भनेर समाचार प्रकाशन प्रशारण गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बनाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ ।
विज्ञप्तिकाे पूर्णपाठ
