काठमाडौं, जेठ १९ ।
नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गर्नु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गर्नु भएको हो ।
चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरण मुखी कार्यक्रम बाड्ने काम भएको तर्क गर्नुभयो । बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उहाँले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास संभव नहुने उहाँको भनाई थियो ।
उहाँले संघीयताको मर्म र भावना विपरित बजेट आएको भन्दै संघीयताको विरुद्धको बाटोमा नजान सरकारलाई सचेत गराए। पुर्वाधार विकास कोष संघीयताको मर्म र भावना विपरित भएको टिप्पणी गर्नुभयो । गत बर्षको बजेटमा भनिए अनुसार राष्ट्रिय गौरवका आयोजनामा खर्च हुन नसकेको भन्दै उहाँले यसपालि पनि कुनै आधार विना हचुवाको भरमा बजेट प्रस्ताव गरिएको उल्लेख गर्नुभयो ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा त्रुटि भएको भन्दै सांसद रिजालले अर्थमन्त्रीको जवाफ माग गर्नु भएको थियो ।
बजेट पुस्तिकामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको भन्दै रिजालले त्यो गलत भएको बताउनु भएको थियो ।
जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले उठाउने कुल राजस्वबाट प्रदेश र स्थानीय तहले पाउने राजस्व घटाउनुपर्नेमा त्रुटिवश जोडिएको बताउनुभयो ।