काठमाडौं, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पोलिट्ब्युरो सदस्य पदम राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति प्रकाशित गरी पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको जानकारी दिएका छन् ।
रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको छ, बिज्ञप्तिमा भनिएकाे छ ।
‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायनहुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’प्रकाण्डद्वारा विज्ञप्तिमा भनिएकाे छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको अवस्थामा पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन प्रकाण्डले सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल समेत गरेका छन् ।
बिज्ञप्तिमा भनिएकाे छ, ‘यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तरयो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबाट अलग–थलग बन्दै गएको छ । पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’
राईलाई पार्टीले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको पाइएको जनाउँदै महिना दिनअघि बसेको स्थायी समितिको बैठकले निलम्बन कारवाही गरेको थियो ।
