भैरहवा, १७ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई अब कम्युनिस्ट र कांग्रेसले मुलुकका लागि केहि गर्न नसक्ने बताएका छन् । शुक्रबार भैरहवामा आयोजित प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अब कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीले राजनीतिबाट विश्राम लिनुपर्ने बताए ।
मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार भएपनि जनतालाई केही दिन नसकेकेा उनकाे भनाइ छ । नेता भट्टराइले दुई तिहाई सरकारले ल्याएको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने दाबी गरे।
मुलुकमा भ्रष्टाचार माैलाएकाे भन्दै बुढीगण्डकी, बाइडबडी, ललितानिवास जग्गा जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको बताए । निर्मला पन्त प्रकरणलगायत उदाहरण दिँदै उनले सरकारले मुलुकमा शान्ति सुरक्षासमेत कायम गर्न नसकेको आरोप लगाए। प्रशासनिक पुर्नसंरचना नहुदाँसम्म जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको बताउँदै उनले संघीयता कमजोर बनाउन सरकारले संविधान विपरीत प्रदेश र स्थानीय सरकारको अधिकारसमेत खोसेर केन्द्रिकरण गरेको आरोप लगाए।