काठमाडाैं, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो दिल्लीस्थित हैदरावाद हाउसमा भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको भारतस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए ।
भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुशी व्यक्त गर्दै यही गतिमा सम्बन्धलाई अगाडि बढाउने आफ्नो चाहना रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच हुने संयुक्त आयोग बैठकमा समग्र दुई पक्षीय सम्बन्धको समीक्षा हुने प्रष्ट पार्दै भने, ‘उहाँसँग हाम्रो पुरानो चिनजान हो । हाम्रो आवागमन पनि बाक्लै रहयो यसमै रहेर सम्बन्ध अगाडि बढाउने हो ।’ भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका छन् ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि बढाउन भारतीय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओली अहिले ताज प्यालेसमा भारतीय नेतासँगको भेटवार्तामा व्यस्त छन् । शुक्रबार बिहान ओली नेपली दूतावास पुगेका थिए । दूतावासमा आन्तरिक विषयमा छलफल भएको थियो ।
मोदीको शपथ समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री ओली केही बेरमै नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किदै छन् ।