काठमाडौं जेष्ठ १५ । आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ ।
दिवशको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२÷०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।
२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिनु भएको थियो ।
यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन भने फेरि २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुर्पयो । दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।
देशमा तीनै तहका निर्वाचनपछि केन्द्रदेखि स्थानीय तहसम्म ७६१ ओटा सरकार पनि बनेका छन् ।
तर गणतन्त्र स्थापना भएका ११ वर्षपछि पनि जनताले अधिकार पाउँन सकेका छैनन् । गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन ।
कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा देखिन थालेपछि वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा समेत छाउन थालेको छ । मुलुकमा भ्रष्टाचार मौलाएको छ भने महंगिले जनताको ढाड सेकिरहेको छ ।
राजनीतिक दलहरुकै कारण मुलुकमा आर्थिक विकास र सामाजिक न्यायका लागि खासै काम हुन सकेको छैन । समृद्धिको अपेक्षा गर्ने सर्वसाधारणहरुमात्रै होइन, मधेसको एउटा ठूलो तप्काले संविधानप्रति नै असहमती जनाएको छ । उनीहरु संविधान संशोधनको मुद्दा निरन्तर उठाइरहेका छन् ।
उता संसदीय राजनीतिभन्दा बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यो संबिधान नै अस्वीकार गर्दै खारेजको घोषणा गरि सडकबाटै जनसंविधान लागु गरेको उद्घोष गर्दै समानान्तर सत्ता सन्चालन गरिरहेको बताउदै आएको छ ।