काठमाडौं, १३ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा भएको बम बिस्फोटमा परि मृत्यु भएकाहरु पार्टी कार्यकर्ता भएको स्वीकार गरेको छ ।
ने.क.पा.का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमवार विज्ञप्ति जारी गरी काठमाडौंको अनामनगरस्थित घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा परि मारिएका चारै जना पार्टीका कार्यकर्ता भएको स्विकार गर्नुभएको हो ।
घट्टेकुलो र सुकेधारामा भएको विस्फोटमा गोकुल राना मगर ‘महान’ , प्रज्वल शाही, दिपेन्द्र विक र नेत्र मल्ल ‘निरन्तर’को मृत्यु भएको थियो भने अन्य ६ जना घाईते भएका छन् ।
महासचिव विप्लवले उक्त घटनाकोबारेमा सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएको छ, जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वल शाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको पनि विज्ञप्तिमा जनाईएको छ ।
महासचिव विप्लवले सहादत प्राप्त गर्ने चारैजनाप्रति सिङ्गो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
साथै पार्टी सहिदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउदै उहाँले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता सोत प्रकट गर्नुभएको छ । त्यसका लागि राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरोध गर्दै सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान समेत विज्ञप्तिमार्फत गरिएको छ ।
यस्तै महासचिव विप्लवले १३ गतेको नेपाल बन्द सफल भएको जनाउदै बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
साथै सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको ने.क.पा.ले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केपी—पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिकालागि गरिएका सङ्घर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, पार्टीका नेता÷कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नुका साथै दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेको जनाएको छ ।’
महासचिव विप्लवले विज्ञप्तिमा कम्युनिस्टका नाममा केपी—पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको र यही क्रममा यो सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को झूट्टो मुठभेटका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोलीहानी हत्या गरेको स्मरण गराउँदै यसरी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने प्रस्ट पारेका छन् ।
सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ
