काठमाडौं, १३ जेठ ।
नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले काठमाडौंमा बम आतंक मच्चिएको बताएका छन् ।
केही दिनअघि ओली सरकारले विप्लवका कार्यकर्ता मारेको र त्यसकै बदलामा आज विप्लवले बम पड्काएर जनताको ज्यान गएको नेता खतिवडाको ठहर छ ।
ट्वीट गर्दै नेता खतिवडाले प्रधानमन्त्री ओलीको घमण्डले देश अफ्ठ्यारोमा गएको र काठमाडौंमा बम प्किएको ठोकुवा गरे ।
देश द्वन्द्व र अप्ठ्यारो अवस्थामा गइरहेको बताउँदै नेता खतिवडाले समस्याको समाधानतिर लाग्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीलाई हल्का बन्ने काम नगर्न पनि सुझाव दिएका छन् ।
नेता खतिवडाले लेखेका छन्, ‘प्रम ओलीको घमण्डले देश अफ्ठ्यारोमा जाँदैछ, घमण्डले आयू घट्छ, ओलीज्यू तपाईं वामपन्थी नेता मात्रै होइन, देशको प्रम पनि हो, कृपया तपाईं हल्का बन्ने काम नगर्नुहोस् । तपाईं असनको साढे पनि होइन, जसले सबैलाई हान्छ । तपाई नेपालको अधिकार सम्पन्न प्रम हो । जनता मार्ने काम फेरि कसैबाट नहोस् ।’
काठमाडौंमा भएका विभिन्न बमकाण्डमा चार जनाको मृत्यु भएपछि नेता खतिवडाको ट्विट आएको हो । यसअघि नेपाली कांग्रेस पार्टीले समेत छलफलबाट समाधान निकाल्न आग्रह गरिसकेको छ ।