काठमाडौं, जेठ १३ ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरबाट एक दर्जन पक्राउ परेका छन् । हालसम्म काठमाडौं, ललितपुर र झापाबाट गरी १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोख्रेलका अनुसार आईतवार र सोमवार दुई दिनमा काठमाडौंबाट ७, ललितपुरबाट ४ र झापाबाट १ जना पक्राउ परेका हुन् । हिजो बिस्फोटमा घाईते भएकाहरुबाहेक अहिलेसम्म १२ जना पक्राउ परेको उहाँले बताउनु भयो ।
काठमाडौको अनामनगर घट्टेकुलो, सुकेधार र थानकोटमा भएको बिस्फोटमा परी घाईते भएका ७ जनाको पनि प्रहरी निगरानीमा वीर अस्पताल, सहिद मेमोरियल हस्पिटल कलङकि लगायतका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रवक्ता पोख्रेलका अनुसार घाईते मध्ये हालसम्म काभ्रेका हरि खड्का, ललितपुर चुन्निखेलका सुरेन्द्र महर्जन, जीतकुमार ठाकुर , बुद्धि लामा , विक्रम लामा र रविन केसीको मात्र पहिचान खुलेको छ भने एक जनाको पहिचान हुन सकेको छैन । बुद्धी र बिक्रम थानकोट बिस्फोटमा घाईते भएका हुन् भने रविन घट्टेकुलो र अन्य सुकेधाराको बिस्फोटमा परी घाईते भएका हुन् ।
बन्दको क्रममा आज छिटफुट आगजनी तथा शंकास्पद बस्तु फेला परेको भएपनि देशभरको अवस्था सामान्य रहेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।
उता बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा एउटा यात्रुबहाक सबमा आगजनी गरिएको छ । प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा बिहानै आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको सुर्खेत प्रहरीले जनाएको छ ।
रामेछापको ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगजनी भएको छ भने मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको र आगजनीबाट ट्रममा सामान्य क्षति पुगेको छ । यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको छ ।
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ ।
यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा(९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क्स्थित अर्घाखाँची र बाग्लुङमा पनि बम फेला परेका छन् । बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि बम फेला परेको छ ।
त्यसैगरी कपिलवस्तुको वाणगंगाका दुई स्थानमा पनि बम भेटिएका छन् । बमलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय पारेका छन् ।
नवलपुरको मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट बोकेको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । त्यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य चोकमा बम भेटिएको बताइएको छ । पोखराको पृथ्वी चोकमा भेटिएको बम सुरक्षाकर्मीले निष्कृय पारेका छन् ।
यसअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको थियो ।
बन्दका कारण राजमार्गका साथै देशका मुख्य सहर सुनसान छन् । काठमाडौं उपत्यकामा पनि पछिल्ला बन्दभन्दा निकै प्रभाव परेको छ । अति आवशकीय सवारी साधान बाहेक फाट्टफुट्ट मात्रै सार्वजनिक यातायात चलेका छन् ।
यसैबीच सर्लाहीको हरिपुर नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएको छ।