काठमाडौं, ११ जेठ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपाली संचारजगतले शुरु गरेको प्रेस स्वतन्त्रताको लडाई नहार्ने बताएका छन् ।
शनिबार राजधानीमा विभिन्न संचारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन कुनैपनि हालतमा पछाडि नहट्ने र जितेरै छाड्ने दाबी गरे ।
महासंघले नेतृत्व गरिरहेको अधिकार रक्षाको आन्दोलनमा सबै पत्रकार एकजुट भएर हाम फाल्न समेत उनले आग्रह गरे । आन्दोलनलाई विजयीमा नपुर्याएसम्म महासंघले विश्राम नलिने भन्दै यो आन्दोलनमा नलाग्ने र कमजोर आँक्ने जोकोही इतिहासबाट विलय हुने समेत बताए । लडाई नेपाली प्रेसजगतको संविधानले दिएको अधिकारको रक्षाको जीवनमरण लडाई भएको उनको भनाई थियो ।
जस्तोसुकै फासिस्ट शासकले पनि प्रेस स्वतन्त्रताको व्यवस्थालाई निल्न नसक्ने, बरु उल्टै शासक नै समाप्त भएर जाने अध्यक्ष आचार्यको विचार थियो । सबै तहबाट महासंघको नेतृत्वमा गोलबन्द हुन र सहयोग तथा सहभागी हुन समेत उनले सम्पादकहरुसँग आग्रह गरे । पत्रकारलाई समाचार लेखेकै आधार हत्कडी लाग्ने र जेल जानुपर्ने वर्तमान परिस्थितिलाई खारेज नगरिएसम्म महासंघ सरकारसँग नझुक्ने पनि बताए ।
सरकारले विद्यमान प्रेस काउन्सिललाई विस्थापित गरी ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा समाचार लेखेकै कारण पत्रकारलाई २५ देखि १० लाख रुपैयाँसम्म जरिवाना र उजुरीकर्तालाई मनासिव क्षतिपूर्ति भराईदिने व्यवस्था राखिएपछि देशभर पत्रकारहरु आन्दोलित छन् । आन्दोलनको नेतृत्व महासंघले गरेको छ । अहिले दोस्रो चरणको आन्दोलन चलिरहेको छ । सोही क्रममा आज अन्तरक्रिया भएको हो ।