काठमाडौं, १० जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) सहित चार जनालाई ललितपुर जिल्ला आदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने अन्य चार जनालाई साधारण तारेखमा रिहा गरेको छ ।
गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार नेता सुदर्शन सहित नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्र बहादुर कार्की र बुद्धि बहादुर स्याङतानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतमा आज भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले चार जनालाई थप अनुसन्धान आवश्यक भएकाे भन्दै थुनामा राख्न आदेश दिएको हो ।
सोही मुद्दामा ने.क.पा.का केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’ रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु देवराज घिमिरे र सञ्जिव कार्की रिहा भएका छन् । अदालतले उनीहरुलाई साधारण तारेखमा रिहा गरेको हो ।
यसअघि नेता सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्याेगकाे कसुरमा पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नै नख्खु जेल चलान गरिसकेको थियो ।
नेता सुदर्शनलाई एनसेलको ललितपुरको नख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानका लागि भन्दै पुर्पक्षका लागि काराकार चलान गरिएको थियो ।
आज फेरि अर्काे हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा पुनः थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आठै जना नेतालाई आज अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस गरेका थिए ।