काठमाडौं, जेठ ७ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनु भएको छ । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए÷नभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो ।
आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उहाँले उक्त आरोप प्रमाणित भए आफू सजाय भोग्न तयार रहेको चेतावनी दिनु भएको हो ।
कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो । उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।