७ जेठ, विराटनगर ।
पाचँथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।
घटनाको जानकारी पाएलगतै तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि घटनास्थल जाँदैछ ।
प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । डीएसपी न्यौपानेका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।
मंगलबार बिहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको विभत्स हत्या भएको हो ।
उता, सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध नभएकाे बताइएकाे छ ।
घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै भएकाे बताइएकाे छ ।