काठमाडौ, जेठ ५ ।
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।आज सिंहदरबारमा बसेको समिति बैठकले यथाशीघ्र बक्यौता उठाउने कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगति विवरण बुझाउन पनि निर्देशन दिइएको छ ।
बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।
बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथाशीघ्र किनारा लगाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको निर्देशन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण
संघीय संसद अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले आफुले दिएका निर्देशनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज सिंहदरवारमा बसेको बैठकमा समितिकी सभापति जयकुमारी घर्तीले निर्देशन पालना गर्नेतर्फ सरकार गम्भिर नभएकोले समितिको प्रभावकारिता नै घट्दै गइरहेको बताउनुभयो ।
समितिको निर्देशनका कारण कुनै समस्या भए छलफल गर्न आग्रह गर्दै उहाँले अन्यथा निर्णय शत प्रतिशत कार्यान्वयन हुनु पर्ने बताउनुभयो । बैठकमा बोल्दै सदस्यहरु मानवहादुर विश्वकर्मा, योगेश भट्टराई, उमेश श्रेष्ठ, उमाकान्त चौधरीलगायतले समितिको निर्देशन नमान्ने मन्त्रालयलाई स्पष्टिकरण सोध्नु पर्ने बताउनुभयो ।
निर्णयलाई लिएर समितिले हस्तक्षेपकारी भूमिका खेल्यो भन्ने सोच नराख्न सदस्यहरुको आग्रह थियो । समितिको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि भएको छलफलमा सदस्यहरुले शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि हुने किसिमको विधेयक ल्याउन आग्रह गरेका थिए ।
उनीहरुले कतिपय क्षेत्रमा अझै औषधी र चिकित्सक नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।