काठमाडाैं, ३० वैशाख ।
२८ वाणिज्य बैंकहरुमध्ये धेरै नाफा कमाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबिबि) पहिलाे नम्वरमा परेकेा छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आरबिबिको खुद नाफा तीन अर्ब ४९ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद नाफा १३.४३ प्रतिशत धेरै हो। बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८१ पैसा रहेको छ । गत आवको चैत मसान्तमा बैंकको इपिएस ४५ रुपैयाँ ६८ पैसा रहेको थियो।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४१ करोड ९ लाख रुपैयाँ रहेको छ । ९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ९ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ।
चैत मसान्तसम्म बैंकले एक खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख निक्षेप संकलन गरि एक खर्ब ३७ अर्ब २ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफामा र निक्षेप संकलनमा आरबिबि सबैभन्दा अगाडि रहेपनि कर्जा लगानीमा भने एनआईसी एशिया भन्दा करिब ४ अर्बले पछाडि छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.२९ प्रतिशत बढेर ७ अर्ब ३७ करोड ९७ लाख ८१ हजार र सञ्चालन नाफा १३.४२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड २७ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ।
यसैगरि बैंकको आधार ब्याजदर पनि वाणिज्य बैंकहरुमध्ये कम ५.३८ प्रतिशत रहेको छ। गत आवको यसै अवधिमा भने बैंकको आधार ब्याजदर ६.२० रहेको थियो। यस्तै निक्षेप लागत भने २.१४ बाट बढेर २.७४ प्रतिशतमा पुगेको छ।
कर्जा निक्षेप अनुपात ७४.०८ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात भने उच्च छ । चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.९० बाट बढेर ४.२८ प्रतिशतमा बढोत्तरी भएको छ। दोस्रो ठूलो नाफा कमाएको नबिल बैंकले ३ अर्ब १९ करोडर इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५६ करोड खुद नाफा नाफा आर्जन गरेका छन्।