काठमाडौं, २७ बैशाख । ११ विद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको गिरफ्तारीकाे बिराेध गर्दै २४ घण्टाभित्र रिहा गर्न माग गरेका छन् ।
शुक्रबार साँझ संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारले पञ्चायतकाललाई माथ दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै ढकालकाे रिहाइकाे माग गरेका हुन् । उनीहरूले गिरफ्तार गरिएका ढकाललाइ रिहा नगरे आन्दाेलन उत्रने चेतावनी दिएका हुन् ।
विद्यार्थी संगठनहरुले अध्यक्ष ढकाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम समेत दिएका छन् । रिहाई नगरे सशक्त संघर्षमा जाने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
“पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, सो समेतलाई माथ दिने गरी हालको केपी ओली नेतृत्वको नेपाल सरकारले फासीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ । सो कार्यको ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दछ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।
साथै, सरकारका यस्ता गतिविधिविरुद्ध संघर्षमा उत्रिन विद्यार्थीहरुलाई अपील समेत गरेका छन् । बिज्ञप्तीमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहि, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका संयाेजक अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पाले हस्ताक्षर गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीक अध्यक्ष ढकाललाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।
