भरतपुर, वैशाख २७ । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बिहीबार साँझ उनी झुण्डिएकाे अवस्थामा फेला परेकेा प्रहरीले जनाएकाे छ ।
घिसिङ गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकाे छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता, घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँच/सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
प्रहरीले बल प्रयोग गरी राजमार्ग सञ्चालनमा ल्याएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ भन्दा बढीलाई नियन्त्रणमा लिएको बताइएकाे छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।