बुटवल, २५ वैशाख ।
नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले दुईतिहाईको सरकारले राम्रो काम गर्नुको सट्टा एकपछि अर्को काण्डमा फस्नु जनताको लागि दुग्भार्यपूर्ण भएको बताएका छन् ।
वर्तमान सरकार एकपछि अर्को गर्दे काण्डैकाण्डमा मुछिएको भन्दै उनले निर्मला हत्या काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाईडबडी काण्ड लगायतका धेरै काण्डमा सरकार मुछिएकाले यसको पर्दाफास कांग्रेसले गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपाली कांग्रेसले बुधबारदेखि ७७ वटै जिल्लामा एकैपटक ‘हिमाल–पहाड, तराई –मधेश नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु गरेको राष्ट्रिय जागरण अभियानको क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकारले जनतालाई झुटो आश्वासन मात्र बाँडिरहेको आरोप लगाए । विगतका दिनहरुका नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेका कामहरु पनि आफूले गरेको भन्दै वर्तमान सरकारले अफवाह मात्र फैलाएको उनको दावी छ ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले रुपन्देही जिल्लाका जनतालाई सुखी र समृद्धितर्फ लैजान कांग्रेसले कहिल्यै साथ नछाड्ने बताए ।