काठमाडौं, १५ वैशाख ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
थाइल्यान्डमा आइतबार सम्पन्न फाइनल खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सीमित रहेपछि नेपालले उपाधि सहज जितेको हो ।
मलेसियाका तीन खेलाडीबाहेक अरुले दोहोरो अंक समेत बनाउन सकेनन् । मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन र जिनेन्द्र मुरलीले १४ रन मात्र जोड सफल भएका थिए । २१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गर्दैै मलेसियालाई उकास्ने कोशिस गरेका थिए । तर हजिक ऐमान आउट भएसँगै मलेसिया थप दबाबमा आएको थियो ।
मलेसियालाई साँघुरो घेरामै समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वा्धिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम के.सी.ले १७ र निखिल कुमार सिंहले १३ रन बनाए । तर अन्य खेलाडीले खासै रन बनाउन असफल रहे ।