सियान, ११ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुगेकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन पुगेकी उनलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनेछन् । साथै उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।
चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।