राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गर्दै, यस्ताे छ भ्रमण कार्यतालिका

राष्ट्रपति भण्डारी नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गर्दै, यस्ताे छ भ्रमण कार्यतालिका

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ११ वैशाख।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दैछिन् ।  राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन् । उनी एक दिन सान्सी प्रान्तमा बस्नेछिन् । त्यो राष्ट्रपति सी चिनफिङको सहर हो । भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम छ ।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आएलगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो । तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो ।

चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ । राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।  सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ ।

नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।

एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन् । युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन् । सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका महाप्रबन्धक पनि सहभागी हुनेछन् । यस्तै जर्मनी, फ्रान्स, स्पेन, बेलायत, जापान, दक्षिण कोरिया र ईयूबाट पनि उच्चस्तरीय प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलन सकिएको भोलिपल्ट आगामी आइतबार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ । दुई नेताबीच बीआरआई अभियानमा सहभागिता जनाएपछि दुई मुलुकबीच बढेको गतिविधि र पहिले भएका सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ । यस्तै चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणको प्राथमिकतामा राखेर कुराकानी हुनेछ।

राष्ट्रपतिले बेइजिङमा हर्टिकल्चर एक्स्पो उद्घाटन गर्ने कार्यक्रम छ । उनले ६ महिनासम्म चल्ने एक्स्पोमा नेपालका स्टल अवलोकन गर्नेछिन् । यस्तै राष्ट्रपतिले नेपाली र चिनियाँ व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी सम्मेलन सकिएपछि ल्हासा हुँदै स्वदेश फर्कनेछिन् ।

उता, राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्केलगत्तै प्रधानमन्त्री केपी ओली कम्बोडिया र भियतनामको औपचारिक भ्रमणमा निस्कने भएका छन् । वैशाख अन्तिम साता प्रधानमन्त्री दुई मुलुकको भ्रमणमा जान लागेको परराष्ट्र अधिकारीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ