काठमाडाैं, ९ वैशाख ।
सत्तारूढ दल नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनामा जिल्ला तहको पार्टी एकता पनि टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गर्याे ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा नेकपाले आयोजित कार्यक्रममा सूची सार्वजनिक गर्याे । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ।
वरिष्ठ नेता झलनाथ खनालले जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको बताए । जुनजुन जिल्लामा एमालेलाई नेतृत्व प्राप्त भएकाे थियाे त्यहाँ हिजो जो निर्वाचित अध्यक्ष थिए, अहिले अध्यक्ष प्राप्त हुँदा पनि उनै अध्यक्ष हुने र सचिव पाएको ठाउँमा पनि उनै (तत्कालीन अध्यक्ष)ले सचिवको जिम्मेवारी पाउने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । तत्कालीन माओवादीका हकमा पनि यही मापदण्ड लागू हुने सहमति भएकाे उनले बताए ।
