काठमाडौं, ५ वैशाख ।
नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । सेनाको जंगी अड्डाले लघु कितावका रुपमा प्रकाशित आचारसंहितालाई परिमार्जन गरी जारी गरेको हो ।
पहिले भएकै आचारसंहितहरुलाई संग्रहित गरेर कार्यान्वयनका लागि पहल गरिएको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायत समेटिएको आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरिसकिएको छ ।
सामाजिक सञ्जाल प्रयोगको हकमा सेनाको विषयमा आक्षेप लाग्ने विषय, धार्मिक सहुष्णिुतामा खलल पुग्ने विषय पोष्ट गर्न वा लाइक, कमेन्ट वा शेयर गर्न नपाईने उल्लेख छ । यस्तै सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोष्ट गर्न पनि निषेध गरिएको छ ।
आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा भनिएको छ, ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन ।’ गोप्य सैनिक सूचना चुहाउनु नहुने पनि भनिएको छ ।
कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ । यसअघि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने अधिकारीले युुनिटका लागि विभिन्न किसिमका उपहार ल्याउने बाध्यात्मक प्रचलन रहे पनि अब कुनै किमिसको उपहार ल्याउनु नपर्ने भनिएको छ ।
कुनै पनि पोष्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ ।