काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलिको नेपाल बन्द सफल पार्न आम जनसमुदायलाई अपिल गरेको छ ।
नेकपा केन्द्रीय कार्यालयले अपिल जारी गरी स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध बैशाख ५ गते आह्वान गरेको नेपाल बन्द सफल पार्न आग्रह गरीएको छ ।
देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गर्दै नेकपाले नेपाल बन्द गर्नु पर्ने कारणका बारेमा फेहरिस्त प्रस्तुत गरेको छ ।
उक्त अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’
प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरूलाई दलाल पुँजीपति वर्गमा पतन गराएर उनीहरूलाई नै उदाहरण बनाइ क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको पनि नेकपाले जनाएको छ ।
दलाल पुँजीवाद रहेसम्म मुलुक समृद्ध र जनता मुक्त हुन नसक्ने भन्दै नेकपाले नयाँ जोगीहरूको उचालाइमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगर्न पनि चेतावनी दिएको छ ।
अपिलमा भनिएको छ, ‘पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म न जनता मुक्त हुनेछन्, न त सुखी र समृद्ध नै हुनेछन् । यी सबै कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाइमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’
‘केपी वली सरकार आएपछि जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू बढेको भन्दै अपिलमा सुन काण्ड, वाइडबढी काण्ड, चिनी काण्ड, एनसेलकाण्ड, बूढीगण्डकीमा भएको कमिसनको चलखेल, बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्ड, अरुण तीन र माथिल्लो कर्णालीका बारेमा पनि उल्लेख गरिएको छ ।
अपिलमा भनिएको छ, प्रतिबन्ध हामीलाई कि देश डुबाउने, जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?’
आफ्नो पार्टी देश र जनताका पक्षमा लड्दै आएको उल्लेख गर्दै अपिलमा भनिएको छ, ‘हाम्रो पार्टी श्रमिक जनता मजदुर किसानको अधिकारका लागि लड्ने पार्टी हो । सारा देशलाई माया गर्ने देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरूको नेतृत्व गर्न तयार पार्टी हो । हामीलाई वास्तवमै देशको स्वाधीनता, जनताको पूर्ण मुक्ति र अधिकारबाहेक केही चाहिएको छैन । हामीले नेपाली क्रान्तिका अनेकौँ तीतामीठा, सफल—असफल शिक्षाहरूसहित एकीकृत जनक्रान्तिलाई अगाडि बढाएका छौँ । हामीले २००७ साल, २०२८ साल र २०५२ सालका विद्रोह र जनयुद्धमा साथ दिने, भाग लिने जनताका बलिदान, आशा अपेक्षालाई बुझेर, काङ्ग्रेस, केपी वली, प्रचण्डहरूसम्मका धोका, बेइमानीलाई पचाएर देशको शासन सत्ता परिवर्तन गर्ने अठोटका साथ यो कदम उठाएका छौँ ।’
साथै नेकपाले बैशाख ६ गतेबाट केपि ओलिका गतिबिधी माथी प्रतिबन्ध लगाउने कार्यक्रम पनि यस अघि नै घाेषणा गरिसकेकेा छ ।
यस्ताे छ नेकपाकाे अपिल ।
