काठमाडौं, ४ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वानहरुको देशको रुपमा विश्वमा चिनाउन पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आफ्नो सरकारी निवास बालुवाटारमा नेकपानिकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई निरक्षरहरुको नभएर विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्ने बताए ।
विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’
उनले शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्ने भन्दै बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।
युवा र विद्यार्थीलाई सृजनशिल र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको भन्दै प्रधानमन्त्री ओलीले अब आन्दोलन नभएर समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्ने बताए ।
गत बर्षदेखि शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई निर्देशन दिए ।