काठमाडौं, १ वैशाख ।
आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनामा परी को–पाइलटसहित ३ जनाको मृत्यु भएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिटको ९ एन एएमएच कलसाइनको १९ सिट क्षमताको एल ४१० नामक ट्विन इन्जिन जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना भएकाे हाे ।
मृत्यु हुनेमा जहाजका को–पाइलट सुजित ढुंगाना लामा, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठ रहेका छन् । कोपाइलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै मृत्यु भएकाे र श्रेष्ठको काठमाडौंस्थित बीएन्डबी हस्पिटलमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
जहाज बिहान ९ बजेर १० मिनेटमा दुर्घटना भएको थियो। जहाज दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टर क्षतिग्रस्त भएको छ। यता, उक्त छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार छानबिन आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेको छन्।
उक्त दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा समिट एयरका पाइलट रविनाथ रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्की छन्।