काठमाडौं, वैशाख १ ।
आगामी आर्थिक वर्षमा नै सरकारले वृद्धभत्ताको रकम बढाउने भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता अभियानको आज काठमाडौंमा शुभारम्भ गर्दै बजेटको पूर्व तयारी चलिरहेको र आउँदो आर्थिक वर्षको बजेटमा जुनसुकै अवस्थामा पनि वृद्धभत्ता बढ्ने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अब भिख माग्नेहरु नरहने बताए । यसका लागि १ करोडको अक्षय कोष स्थापना गरेको र मासिक २ हजार रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए ।
त्येक नागरिकको बैंक खाता भएपछि ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बिमा गर्न सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले नयाँ वर्षको पहिलो दिनबाट सुरु भएको बैंक खाता अभियानले बैंक खाता नहुने नेपाली नै नरहने दाबी गरे।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले ६० वर्ष भन्दा माथिका सबैलाई स्वास्थ्य विमामा समेटिने भन्दै १ सय रुपैयाँ बैंकले नै खातामा राखिदिने भएकोले वृद्धवृद्धाहरुले आफुबाट १ सय थप गरेर पनि बैंक खाता खोल्न सकिने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीका बाबु मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यकी आमा धनमाया शाक्यको बैंक खाता खोलिएको छ । यस्तै स्वास्थ बिमा तर्फ ५५ जनाको स्वास्थ बिमा गराइएको छ ।जसमा पहिलाे स्वास्थ्य बिमा बालुवाटारकी १ सय वर्षीया जमुना गुरुङको गराइएको हो ।