पोखरा, चैत २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस र सेनामाथि हस्तक्षेप गरेर निरंकुशतातर्फ अघि बढेको बताएका छन् ।
पोखरामा बिहीबार नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ले सेनामाथि हस्तक्षेप गर्न थालेको आरोप लगाए । सुरक्षा परिषदबिना सेना परिचालन गर्नु सरकारले सेनामाथि पूर्णरुपमा हस्तक्षेप थाल्नु भएकाे भन्दै उनले त्यस्तो विधेयक ल्याए कांग्रेसले सशक्त प्रतिकार गर्ने बताए ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद ओली’को संज्ञासमेत दिएका छन् । उनले भने – ‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘करप्रसाद ओली’ राख्नुपर्ने भयो’ ।
सभापति देउवाले आउँदो वैशाखदेखि जागरण अभियानका साथ पार्टी नेता–कार्यकर्ता गाउँ–गाउँ जाने घोषणा गर्दै पार्टीमा घात–अन्तर्घात गर्नेहरुमाथि कडारुपमा प्रस्तुत गर्न चेतावनी दिए ।
साेहि कार्यक्रममा बाेल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षलाई पेलेर अगाडि नबढ्न सरकारलाई चेतावनी दिदै त्यस्ताे गरिए ठुलाे मुल्य चुकाउनुपर्ने बताए । महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एक भएर अघि बढाउन आफूले जुनसुकै कुरा त्याग गर्न तयार रहेको बताए ।