२२ चैत, काठमाडौं ।
नेपाली कांग्रेसले भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलीको बैठकमा कार्यसम्पादन समिति गठनको सम्भावना रहेको नेताहरुले बताएका छन् । बैठकमा कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर नै नेताहरुबीच छलफल हुने छ ।
बैठकको अघिल्लो दिन आज नै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको स्रोतको दाबी छ ।
२९ सदस्यीय कार्यसम्पादन समिति बन्ने र सभापतिसहित ७ जना पदाधिकारी र एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदारबाहेक बाँकी २१ जनामा भागवण्डा भएको बताईएको छ ।
जसअन्तरगत नै पार्टी सभापति देउवाले ६०÷४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषध्यक्ष उनकै पक्षको जोड्दा ४० प्रतिशत हाराहारी हुन्छ ।
बाँकी १२ जना देउवा समूहबाट हुनेछन् । नेता कृष्ण सिटौलालाई सभापतिको भागबाट राख्ने गरी सहमति जुटेको पनि बताईएको छ ।
यसैबीच, कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै जागरण अभियान चलाउने तयारी समेत गरेको छ । शुक्रबार शीर्ष नेताहरुको बैठकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे ब्रिफिङ गरेका थिए ।