८ चैत, काठमाडौं ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे, आयुक्तहरु गणेशराज जोशी र सावित्री गुरुङलाई बोलाएर अख्तियारका काम कारबाही, हालसम्मका प्रगति र भावी कार्ययोजनाबारे छलफल गरेको छ ।
बैठकमा प्रमुख आयुक्त र आयुक्तहरुलाई सांसदले अख्तियारका काम कारबाही र हालसम्मका प्रगतिबारे प्रश्न सोधेका थिए । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा भ्रष्टाचार बढेको भएपनि नियन्त्रणका लागि खासै पहल नभएको भन्दै त्यसलाई नियन्त्रण गर्न कानुनी समस्या के छ ? भनेर सोधेका थिए ।
नेकपाका सांसद विजय सुब्बाले ठूला ठेकेदारहरु संसदमै रहेको र उनीहरुले ठेकेदारका विरुद्व कुनै कारबाही हुन नदिने भनिरहेको उल्लेख गदैृ यस्तो बेला अख्तियार कसरी काम गर्छ ? राजनीतिक दबाब छ कि छैन भनेर प्रश्न गरे ।
नेकपाका सांसद पम्फा भुसालले नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारल खेल्ने भूमिका कस्तो हुन्छ भने प्रश्न गरिन्।
यस्तै सांसद महेश्वरजंग गहतराजले सिक्टा सिञ्चाइ आयोजनामा अख्तियार प्रवेश गरेपछि आयोजना नै अन्योलमा परेको बताए । संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले काठमाडौंको चक्रपथ, स्मार्ट सिटी जस्ता आयोजनामा भ्रष्टाचार भएको विषय आइरहेको बताए ।
नेपाली कांग्रेसकी सांसद मिना पाण्डेले काठमाडौंको बागमती किनारका सार्वजनिक जग्गा निजीकरण भएको बताइन ।सांसद प्रेम सुवालले निजी मेडिकल कलेजमा भइरहेको भ्रष्टाचार, ३३ किलो सुन काण्ड, एनसेल, नेपाल टेलिकमको फोरजी विस्तार र वाइडबडी विमान खरिद प्रकरणमा भएको भनिएको भ्रष्टाचार र त्रिभुवन विमानस्थलमा एयरलाइन्सहरुले बुझाउनुपर्ने रकम नबुझाएको जस्ता विषयमा अख्तियारले के गरिरहेको छ ? भनी प्रश्न गरे ।
उता सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख आयुक्त घिमिरेले आयोगलाई राजनीतिक दबाब नरहेको बताए । उनले स्थानीय तहमा भ्रष्टाचार बढेको स्वीकार्दै नियन्त्रणका लागि कानुनी समस्या रहेको बताए ।