१६ चैत, काठमाडौं ।
काठमाडौंमा शुक्रबारदेखि जारी लगानी सम्मेलनमा सरकारले प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेकोमा सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार उर्जा, उद्योग, पर्यटन, उत्पादन क्षेत्रका विभिन्न १३ परियोजनामा लगानीको प्रस्ताव आएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताए ।
निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी एक खर्ब १० अर्बकाे लगानी गर्ने बताएको हो ।उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।
निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।उसले नेपालमा लगानी गर्न थालेको ५० वर्ष भइसकेको छ ।