१४ चैत, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बन्दी सहित तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको छ ।
गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको भन्दै रिहाईको मागसहित विपना ओलीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सुनुवाई गर्दै बिहिवार सर्वाेच्च अदालतले सरकारका नाममा आदेश दिएकाे हो ।
सुदर्शनका छोरी विपना ओलीले चैत १३ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाव ललितपुर, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालत ललितपुरलाई विपक्षी बनाइएको छ ।
साेहि रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।आजको बहसमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्याैपाने र अधिवक्ता कपिलचन्द्र पोखरेलले बहस गरेका थिए ।
यस्तै आजै सर्वोच्च अदालतले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई पनि प्रकाउ गर्नुकाे कारण सहित तीन दिनभित्र उपस्थित गराउन सरकारलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले वन्दिप्रत्यक्षीकरणकाे मुद्वामा बहसपछि सुनुवाइ गर्दै तीन दिनभित्र उपस्थि गराउन अादेश दिएकाे हाे ।