काठमाडौं, चैत ८ । एमाले र माओवादी मिलेर एउटै पार्टी बने पछि तल सम्म एकता हुन नसकेर कार्यकर्ताहरु निरास छन् भने अर्कोतिर नेताहरु नै बेरोजगार देखिएका छन् ।
वामदेव गौतम जस्ता वरिष्ठ नेताहरु नै आफै बेरोजगार भएको बताउछन् । यसो किन भयो त ? यसको एउटै कारण दुई अध्यक्ष केपी ओली र प्रचण्डले मात्रै सल्लाह गरेर निर्णय गर्नु गराउनु हो भन्नेमा नेताहरुको तर्क छ ।
गौतमले आफू पूर्ण बेरोजगार भएको बताए। ‘म मन्त्री पनि छैन, संसद पनि छैन, पार्टीमा त्यस्तो जिम्मेवारी छैन, पूर्ण बेरोजगार छु,’ उनले भने, ‘कसैले बोलाउदैनन्।’
पार्टीका सचिवालय सदस्य गौतमले सरकारले नागरिकको चाहना अनुसार काम गर्न नसकेमा मुलुकबाट सदाको लागि कम्युनिस्ट नै समाप्त हुने बताए ।
आर्दश दम्पती तथा युवा सम्मान कार्यक्रममा उनले भने, ‘दुई तिहाईको सरकारले केही गर्न सकेनौ भने हामी कम्युनिस्ट समाप्त हुन्छौ ।’,
राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले गौतम र उनकी श्रीमती तुलसा थापा, नेकपा नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती तथा डा. मदन सत्याल र नर्मदेश्वरी सत्याललाई आर्दश दम्पत्ती सम्मान गरेको छ ।
त्यस्तै डा. अनिल भटराई, डा. शरद कार्की, डा. शेखर गुरुङ, डा. रविन खड्का, सुनिलकुमार पोखरेल, गायक कृष्णप्रसाद कँडेल, बद्रीनारायण शाह, रुद्र भण्डारीलगायत पनि सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान गरेका हुन्।