जीतपुर, २६ फागुन । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षाअनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणका योजना अघि बढाइए पनि कतिपय योजना अधुुरै छन् ।
काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए पनि विगत वर्षदेखिका योजना अपूरै रहेको र लगेको पेश्की पनि अहिलेसम्म बुझाइएको छैन । केही योजनाको नक्कली कागजात र बिल बनाएर पेश गरी बजेट दुरुपयोग गरिएका चर्चा पनि बढेको छ । सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायत जिम्मेवारी दिए पनि दरबन्दीअनुसारका दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन हुन नसक्दा १० वटा स्थानीय तहका केही नगर र गाउँपालिकाको बेरुजु रकम बर्सेनि बढ्दै गएको हो ।
प्राप्त विवरणअनुसार बेरुजु रकममध्ये सबैभन्दा बढी बुद्धभूमि नगरपालिकाको रू तीन करोड ९५ लाख ५९ हजार छ भने सबैभन्दा कम बेरुजु कृष्णनगर नगरपालिकाको छ । उक्त नगरको बेरुजु रू नौ लाख २० हजारको हो ।
यस्तै वाणगङ्गा नगरपालिकाको पनि विगत वर्षमा रू २२ लाख र यस वर्ष रू एक लाख ८३ हजार बेरुजु देखिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिनुभयो । महाराजगञ्ज नगरपालिकाको रू तीन करोड ६८ लाख ५९ हजार, शिवराज नगरपालिकाको रू तीन करोड एक लाख ५० हजार र कपिलवस्तु नगरपालिकाको रू ४८ लाख २९ हजार बेरुजु छ ।
यसैगरी गाउँपालिकाका सबैभन्दा बढी रकम बेरुजु मायादेवी गाउँपालिकाको रू दुई करोड ५४ लाख ७८ हजार भने सबैभन्दा कम विजयननगर गाउँपालिकाको छ ।
उक्त गाउँपालिकाको रू ६ लाख ३० हजार ७७४ बेरुजु देखिएको छ । यशोधरा गाउँपालिकाको रू एक करोड ८५ लाख ४१ हजार र शुद्धोधन गाउँपालिकाको रू ८७ लाख ४२ हजार बेरुजु रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अधिकांश स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनोट गर्न कठिन भएको जनप्रतिनिधिकोे भनाइ छ ।
विगतका वर्षमा सम्बन्धित कार्यालयले बेरुजु रकम फछ्र्यौट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाई नराखेको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेकोजस्ता त्रुटिका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ ।
बुद्धभूमि नगरपालिकाको बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले विगतमा के–के शीर्षकमा बेरुजु भएको छ, त्यो हेर्न बाँकी रहेको तर आफू आइसकेपछि बढी बेरुजु रकम नभएको बताउनुभयो ।