काठमाडौं, १७ फागु । आर्थिक वर्ष २०७४/७५ मा मात्रै मुलुकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे) र गैरसकारी संस्था ( एनजीओ) ले १ खर्ब ९ अर्ब रुपैयाँको परियोजना सञ्चालन गरेको पाइएको छ । समाज कल्याण परिषद्का अनुसार विगत एक वर्षमा आईएनजीओेले ८९ अर्ब २० करोड ८६ लाख ९४ हजार ४८९ रुपैयाँ र एनजीओले २० अर्ब १ करोड ४२ लाख ७३ हजार ६७२ रुपैयाँ लगानी गरेका छन् । परिषद्का अनुसार अहिले ७२३ वटा एनजीओले १ हजार १८१ वटा परियोजनामार्फत कार्यक्रम सञ्चालन गरिरहेका छन् । २० वटा आईएनजीओेले १ अर्बभन्दा बढीका परियोजना सञ्चालन गरिरहेको पाइएको छ ।
त्यति धेरै रकम लगानी गरे पनि आईएनजीओ र एनजीओले सञ्चालन गरेका परियोजनाबारे सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । नेपालको चालू आवको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रहेको छ । नेपालको कुल बजेटको झन्डै ७ दशमलव ७ प्रतिशत जति बजेट एनजीओ र आईएनजीओेले खर्चेको पाइएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले आईएनजीओे र एनजीओले सञ्चालन गरेका परियोजनाको प्रभावकारी अनुगमन हुन नसक्दा उनीहरूको पारदर्शितामा प्रश्नचिह्न सिर्जना हुन पुगेको बताए । त्यति धेरै रकम खर्चने एनजीओ र आईएनजीओेका बारेमा विशेष संयन्त्र बनाएर नियमित अनुगमन गर्न जरुरी रहेको राईले जनाए ।
आईएनजीओे र एनजीओको रकमको प्रभावकारिताबारे अनुगमन गर्ने जिम्मेवारीमा रहेको समाजकल्याण परिषद् आफैं बिरामी अवस्थामा पुगेको छ । सरकारले केही समयअघि मात्रै परिषद्का उपाध्यक्ष, सदस्य सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीलाई अनियमिततामा मुछिएको भन्दै बर्खास्त गरेको थियो । अहिले मन्त्रालयले सहसचिव राजेन्द्रकुमार पौडेललाई सदस्य सचिवको जिम्मेवारी दिएको छ । सदस्य सचिव पौडेलले अब विशेष संयन्त्रमार्फत अनुगमन प्रभावकारी बनाइने दाबी गरे ।
आईएनजीओेको लगानी कुन क्षेत्रमा कति ?
स्वास्थ्य –२२ अर्ब २३ करोड ६६ लाख १७ हजार
सामुदायिक विकास– २० अर्ब १८ करोड ११ लाख ५५ हजार
भूकम्पपछि पुनर्निर्माण –१८ अर्ब ३९ करोड ९९ लाख ९५ हजार
बालबालिका–१० अर्ब ३६ करोड २५ लाख ८८ हजार
कृषि क्षेत्र –५ अर्ब ९१ करोड ९४ लाख ५४ हजार
वातावरण–४ अर्ब ८६ करोड ६५ लाख ४५ हजार
शिक्षा –१ अर्ब ९५ करोड ६ लाख ९१ हजार
महिला क्षेत्र–१ अर्ब ३८ करोड ४५ लाख ८९ हजार
अन्य विभिन्न क्षेत्र–४ अर्ब ३० करोड ७० लाख ५६ हजार
परिषद्का अनुसार आईएनजीओेले मुलुकको शिक्षा विकास र विस्तार, महिला बालबालिकाको हित, कृषि, भूकम्पपछिको पुनर्निर्माण, स्वास्थ्य वातावरण र सामुदायिक विकास शीर्षकमा अर्बौं रुपैयाँ खर्चेको पाइएको हो ।
परिषद्का अनुसार देशका विभिन्न भागमा ७२३ वटा गैरसरकारी संस्थाले १ हजार १८१ वटा परियोजना सञ्चालन गरिरहेका छन् । ती एनजीओले कृषि र वातावरण क्षेत्रमा ४१ वटा परियोजना सञ्चालन गरिरहेका छन् । सो परियोजनाका लागि ४० करोड ३५ लाख ४८ हजार १५९ रुपैयाँ लगानी गरेको समाजकल्याण परिषद्ले जानकारी दिएको छ । यसैगरी, एनजीओले बालबालिका क्षेत्रमा १२७ वटा परियोजनाका लागि ५ अर्ब ५० करोड १२ लाख रुपैयाँ लगानी गरेका छन् । यसैगरी, ८४ वटा सामुदायिक विकास परियोजनाका लागि १ अर्ब २१ करोड ९० लाख, अपांगता भएका क्षेत्रका २२ परियोजनाका लागि २८ करोड ३९ लाख ३३ हजार, भूकम्पपछिको पुनर्निर्माणका २४ परियोजनाका लागि ४४ करोड ५३ लाख ६५ हजार, विद्यालय पुनर्निर्माणका २०९ परियोजनाका लागि ३ अर्ब २ करोड ४८ लाख स्वास्थ्य र सरसफाइका १३६ परियोजनाका लागि २ अर्ब ५ करोड ४९ लाख, महिला बेचबिखनविरुद्धका ८६ परियोजनाका लागि ८८ करोड, ४६ लाख ४८ हजार, रुपैयाँ खर्चेको समाजकल्याण परिषद्ले जानकारी दिएको छ । यसैगरी, विभन्न बहुक्षेत्रीय शीर्षकमा एनजीओले ३५७ परियोजनाका लागि ४ अर्ब ८९ करोड ५ लाख ८५ हजार रुपैयाँ खर्चेका छन् । परिषद्का अनुसार नेपालका आईएनजीओेले बढी रकम ल्याएका देशहरूमा बेलायत, अमेरिका , स्विजरल्यान्ड, क्यानडा, डेनमार्क, जर्मनी नर्बे रहेका छन् ।राजधानी दैनिकबाट