विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता: अझै डेढ अर्ब बाँकी, एयर एशियाले २१ करोड तिरेन 

विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता: अझै डेढ अर्ब बाँकी, एयर एशियाले २१ करोड तिरेन 

  • शनिबार, माघ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

–सिवी अधिकारी/काठमाडौँ, १९ माघ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।

एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु ४० करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।

एयर एशियाले २१ करोड तिरेन 

मलेशियाको बजेट एयरलाइन्स एयर एशियाले विलम्ब शुल्कसहितको विमानस्थल सेवा शुल्कबापतको रु २१ करोड बक्यौता तिरेको छैन । यसमा रु सात करोड ५० लाख साँवा र विलम्ब शुल्क रु १३ करोड बाँकी छ । क्वालालम्पुर–काठमाडौँ सिधा उडान गर्दै आएको यो कम्पनीले बक्यौता नतिरेपछि केही महीनाअघि सेवा बन्द गरेको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार बढी बक्यौता रहेको एयर एशियाबाट विमानस्थलले हालसम्म रु ३१ करोड उठाएको छ । सो कम्पनीले रु साढे सात करोडको चेक मात्रै बुझाएको छ तर ती चेक बाउन्स भएपछि कम्पनीका नेपाल एजेन्ट हरिमान लामा झण्डै छ महीनादेखि सम्पर्कविहीन रहेको बताइन्छ । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीकोे समेत संलग्नता रहेको भन्दै प्राधिकरणले छानबिन अघि बढाएको बताइएको छ । सञ्चालनमा नरहेका सङ्घसंस्थाको बक्यौता करीब रु तीन करोड छ ।

कुन कम्पनीबाट कति उठ्यो 

विमानस्थलले एयर एशियाबाट रु ३१ करोड, हिमालयन एयरलाइन्सबाट रु पाँच करोड, सिम्रिक एयरबाट करीब रु तीन करोड, सौर्य एयरलाइन्सबाट रु एक करोड ८० लाख, रसुवा केडीको रु एक करोडभन्दा बढी, थाई एयरलाइन्सबाट रु एक करोड २५ लाख र पार्किङ शुल्क डेढ करोड तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब रु सात करोड रकम उठाएको छ ।

हिमालय एयरलाइन्सलाई एक महीने अल्टिमेटम 

अन्तर्राष्ट्रिय उडानमा रहेको हिमालय एयरलाइन्सले विमानस्थललाई सेवा शुल्कबापतको रकम समयमा नबुझाएपछि एक महीनाको चेतावनी (अल्टिमेटम) दिइएको छ ।

एक महीनाभित्र रकम नबुझाए उडान बन्द गर्ने चेतावनीसहित विमानस्थलले पत्राचार गरेपछि उक्त एयरलाइन्सले विमानस्थललाई रकम भुक्तानी गर्ने आश्वासन दिएको छ । एक महीनाभित्र उडान नगरे सेवा बन्द गर्नेसम्मको कारवाही हुने विमानस्थलले जनाएको छ । उक्त कम्पनीले गत पुसको अन्तिम साता विमानस्थललाई रु ५० लाख भुक्तानी गर्दै बाँकी रकम तिर्न एक महीनाको समय मागेको थियो ।

हिमालयनले करीब रु १४ करोड बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ ।

हिमालयका तीनवटै जहाज सञ्चालनमा रहेकाले बक्यौता तिर्न नियमित सम्पर्कमै रहेकाले यो रकम चाँडै उठ्ने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।

सौर्य एयरलाइन्स दुई महीनादेखि उडान बन्द 

विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महीनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब रु तीन करोड बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् ।

पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन ।

सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । उडान औसतमा ५० देखि ५५ अन्तर्राष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब ३०० उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी