थामियो शेयर बजार: नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियो

थामियो शेयर बजार: नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियो

  • बिहिबार, मंसिर २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, २० मङ्सिर। 

बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ ।

सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् नौ दशमलव ८१ र उत्पादन दुई दशमलव ६२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ दुई दशमलव ५५, होटल शून्य दशमलव ६५, विकास बैंक तीन दशमलव ३१, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ३५ दशमलव ५९, अन्य शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४ र जीवन बीमा ४४ दशमलव शून्य सात बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियो

नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।

गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ प्रणाली सञ्चालनमा ल्याउँदा केही जटिलता देखिएको भए पनि ती सबै समस्या समाधान भएको जानकारी दिनुभयो । उहाँले नयाँ प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको प्रतिक्रिया दिनुभयो ।

धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद÷बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो । स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ ।

नेप्सेले नयाँ प्रणालीको माध्यमबाट धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोवार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायतका कार्य गर्न सक्ने व्यवस्था छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आउँदा ती विषयमा धेरैले थाहा नै पाएका थिएनन् ।

स्टकले परीक्षण कारोवार(मोक टेडिङ) गराएको थियो । तर, कारोवारमा रहेका धेरै नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्यो । कारोवारमा समेत केही समस्या देखिएको थियो । नेप्सेको डिस्प्लेमा कारोवारको सही तथ्याङ्क नदेखिँदा लगानीकर्तामा अन्योल बढाइदिएको थियो । स्टकका प्रवक्ता पराजुलीले सबै खालका समस्या समाधान भएको र अब पूर्णरुपमा नयाँ प्रणाली सञ्चालन भएको बताउनुभयो ।

लगानीकर्ताले नयाँ प्रणालीको प्रयोग गरी शेयर खरीदको आदेश प्रविष्ट गर्ने, कारोवारकै समयमा चार्ट हेर्न मिल्ने, रकम ट्रान्सफर गर्न सकिने आदि सुविधा नयाँ प्रणालीमा छन् । नेप्सेले विगत दुई दशकदेखि विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ । पछिल्लो प्राविधिक विकासलाई आत्मसात् गर्दै जाने क्रममा ती प्रविधि प्रयोगमा ल्याइएका हुन् ।

विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने व्यवस्था थियो । यस्तै २०६४ सालदेखि सेमी अटोमेटेड टे«डिङ सिष्टम सञ्चालनमा ल्याएको थियो । यस्तै २०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो ।

नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा दिएको हो । उक्त प्रणालीको अर्थमन्त्री डा युवराज खतिवडाले शुभारम्भ गर्नुभएको थियो । पछिल्लो पटक नयाँ प्रणाली शुरु भएपछि कारोवार रकममा वृद्धि भएको छ । शेयर कारोवारको सङ्ख्यासमेत बढेको छ । नयाँ प्रणाली शुरु भएको कात्तिक २० गते कूल रु तीन करोडको कारोवार भएको थियो । सो प्रणालीको शुरुआत भएलगत्तै तिहार बिदा भयो । तिहार बिदालगत्तै खुलेको बजारमा रु १० करोडको कारोवार भयो । क्रमशः कारोवार रकम र कारोवार सङ्ख्यामा वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ ।

नयाँ प्रणालीबाट शेयर कारोवार गर्न एक पटक मात्रै धितोपत्र दलाल व्यवसायीकोमा युजर नेम र पासवर्ड लिए हुन्छ । सो प्रणालीबाट घर, कार्यालय वा विदेशबाट पनि शेयर खरीद गर्न वा बिक्री गर्न सकिन्छ । त्यसका लागि आनो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम भने हुनु आवश्यक पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी