रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा,  ७० प्रतिशत काम पूरा 

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा,  ७० प्रतिशत काम पूरा 

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

रसुवा, ३ मङ्सिर । 

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ ।

एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो ।

रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा– १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको र समग्र रुपमा काम ७० प्रतिशत पूरा भइसकेको उक्त कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिनुभयो ।

भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङ (आउटलेट) को काम अन्तिम चरणमा पुगेको, भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण कार्य पनि धमाधम अगाडि बढिरहेको बताइएको छ ।

सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्यबमोजिम सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि डब्लु इले अह्रोरात्र काम गरिरहेको र निर्माणमा ८०० भन्दाबढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ ।

रु १३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्र्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ । असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न गरिने कम्पनीका प्रबन्धक निर्देशक कोइरालाले बताउनुभयो ।

आयोजनाको कार्यमा ३० भन्दाबढी प्राविधिक कार्यरत छन् । वातावरणीय हिसाबले अत्यन्तै राम्रो र भरपर्दाे विद्युत् आयोजना रसुवागढी जलविद्युत् हुने बताउँदै वातावरणविद् तथा जनसम्पर्र्क प्रमुख तेज साउथले निर्माण काम गरुञ्जेल बाहिर सतहमा केही असहज भएको तर निर्माणको संरचना सबै भूमिगत भएकाले भोटेकोशीको बाढी, ठाडो भिरको पहिरो, चट्याङ र भूकम्प जस्ता प्रकोपले कुनै असर नगर्ने जानकारी दिनुभयो ।

विद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दामाथि सामाजिक काममा सहयोग गरिरहेको र खैदी मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिसकेको बताउँदै टिमुरे घट्टेखोला निवासी समाजसेवी सोनाम वाङ्दी तामाङले भन्नुभयो, “सामाजिक उत्तरदायित्वका सवालमा राम्रो काम भएको छ । कुनै आकस्मिकरुपमा परी आउने सहयोगलाई समेत निरन्तरता दिई आयोजनाले सद्भाव राम्रो कायम गरेको छ ।”

आयोेजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये छ जना अधिकृतस्तरमा कार्यरत छन् । स्वस्थ्य क्षेत्रमा सहज पार्न रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक÷एक नर्स विद्यालयका लागि दुई÷दुई जना शिक्षकको व्यवस्थापन गर्नुका साथै टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर डिस्पोजल एवं ट्र्याक्टर व्यवस्था, रोङ्गा थुमन १३ किमी ग्रामीण सडक र थुमनमा बौध गुम्बा निर्माण गरिसकेको छ ।

आयोजनाले जैविक विविधता संरक्षणअन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपण गर्नुका साथै रोपणका लागि छ हजार बिरुवा तयारी गरिसकिएको र लाङ्टाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित कार्यालय भवन निर्माणसमेत सम्पन्न गरिसकिएको आयोजनाका वातावरणविद् साउथले बताउनुभयो ।

प्रभावित क्षेत्रका गाउँलाई उज्यालो पार्न टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरणको कामसमेत सम्पन्न गरिसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई एक÷एक वटा क्वाटर निर्माण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी