ब्याजदर र ‘क्रेडिट क्रन्च’मा व्यवासायीको दोहोरो चरित्र, अर्थमन्त्री र गभर्नरको एउटै स्वर

ब्याजदर र ‘क्रेडिट क्रन्च’मा व्यवासायीको दोहोरो चरित्र, अर्थमन्त्री र गभर्नरको एउटै स्वर

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौँ, १२ कात्तिक।

उद्योगी व्यवसायीले वित्तीय प्रणालीमा लगानीयोग्य तरलताको अभाव (क्रेडिट क्रन्च)का विषयमा दोहोरो चरित्र देखाएका छन् । उनीहरूले क्रेडिट क्रन्च र त्यसबाट ब्याजदरमा पर्ने प्रभावले उद्योग व्यवसाय मात्रै होइन मुलुकको समग्र अर्थतन्त्रमै प्रभाव पर्ने बताउँदै आएका छन् । तर, ‘क्रेडिट क्रन्च’ र ‘अस्थिर ब्याजदर’को चिन्ताजनक अवस्था आउनुमा व्यवसायीहरू स्वयम् पनि उत्तिकै जिम्मेवार रहेको सरोकारावालाहरू बताउँछन् ।

नेपालका बैंकहरूमा अधिकांश ठूला औद्योगिक–व्यावसायिक घरानाको लगानी छ । अन्य थुप्रै व्यवसायीहरूले पनि विभिन्न तरिकाले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । यस हिसाबले धेरै उद्योगीहरू बैंक सञ्चालक र ऋणी दुवै भूमिकामा रहेका छन् ।

वित्तीय प्रणालीमा ‘अस्थिर ब्याजदर’ र ‘क्रेडिट क्रन्च’को अवस्था सिर्जना हुनुमा यसरी दोहोरो भूमिकामा रहेका व्यवसायीहरू पनि जिम्मेवार रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘व्यवसायीहरू नै बैंक सञ्चालकका रूपमा बैंक व्यवस्थापनलाई व्यवसाय र नाफा बढाउन दबाब दिन्छन्,’ उनले भने, ‘सञ्चालकको दबाब थेग्न नसकेर बैंकरहरूले अनियन्त्रित रूपमा व्यवसाय बढाउन खोज्दा क्रेडिट क्रन्च र अस्थिर ब्याजदरको समस्या आइरहेको छ ।’

बाणिज्य बैंकका एक पूर्वसिइओले भने, ‘बैंकको पुँजी बढेर २ अर्बबाट ८ अर्ब पुगेको छ, सञ्चालकहरूले पुँजी बढेको भन्दै नाफा र लाभांश पनि बढाउन दबाब दिएका छन्, यसले गर्दा वित्तीय बजारमा अस्वस्थ प्रतिस्पर्धा र अस्थिरता बढेको हो ।’ ‘क्रेडिट क्रन्च’बाट ब्याजदर बढ्दा व्यवसाय गर्न गाह्रो भयो भन्दै लबिङ गर्ने पनि तिनै व्यवसायी भएको उनको धारणा छ ।

बैंक लगानीकर्ताप्रति उद्योगीकै गुनासो
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रलाई आरोप लगाउनुभन्दा पनि सबै पक्ष बसेर समस्याको समाधान गर्नुपर्ने बताए । ‘यस्ता गुनासा धेरैका छन् जुन छलफलको विषय हो, समस्या के हो र कसरी समाधान गर्ने भन्ने कुरामा नियामक निकाय बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आइतबार फेसबुकमा स्टाटस लेख्दै बैंकका सञ्चालकप्रति व्यंग्य गरेका छन् । खासगरी क्रेडिट क्रन्च र उच्च ब्याजदरको विषयलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘८ सय करोडको व्यापार  गर्नेहरूको हुति पनि देखियो, अझ नियामक निकाय पनि उनीहरूकै तालमा नाचेको छ ।’ तर, महासंघको बैंकिङ समितिका उपसभापति गोपाल खनालले क्रेडिट क्रन्च र अस्थिर ब्याजदरमा बैंक सञ्चालकहरूको भूमिका नहुने बताए । बैंकहरू आफैँमा पारदर्शी हुनु र राष्ट्र बैंकको नियमनमा चल्ने भएकाले सञ्चालकलाई दोष लगाउन नहुने उनको भनाइ छ ।

निजी क्षेत्रका संगठनमा समिति छन्, तर समाधान खोज्दैनन्
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसघ र नेपाल चेम्बर अफ कमर्समा पनि बैंक तथा वित्त समिति छन् । तीनैवटा छाता संगठनमा बैंक, बैंकका सञ्चालक र व्यवस्थापकसमेत सदस्य छन् । यसर्थ, अहिले भइरहेको समस्याका बारेमा सम्बन्धित छाता संगठनमा समेत छलफल गरी समाधान खोज्न सकिन्छ । तर, व्यवसायीहरूमा पनि आफैँ समाधान खोज्नेभन्दा पनि सरकार र केन्द्र बैंकको मुख ताक्ने प्रवृत्ति देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘खासगरी सञ्चालक वा लगानीकर्ता र ऋणी गरी दुई थरी भूमिकामा रहेका व्यवसायी पनि जिम्मेवार हुनु आवश्यक छ,’ उनले भने, ‘व्यवसाय नाफा बढाउन व्यवस्थापनलाई दबाब पनि दिने अनि त्यही दबाबबाट सिर्जना हुने अवस्थाको आलोचना पनि गर्ने दोहोरो चरित्र देखाउनुभएन ।’

अर्थमन्त्री र गभर्नरको एउटै स्वर
१३ भदौंमा नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को साधारणसभामा बोल्दै संघीय सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई लिएर निजी क्षेत्रले नै दोहोरो भूमिका खेलेको बताएका थिए । कार्यक्रममा उद्योगीहरूले ब्याजदर उच्च भएको गुनासो गरेपछि जवाफमा अर्थमन्त्री खतिवडाले सरकारले ब्याजदर तोक्न नसक्ने बताउँदै स्थिर र अनुकूल व्याजदरका लागि निजी क्षेत्र नै जिम्मेवार हुनुपर्ने बताएका थिए ।

सोही दिन  नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदरलाई लिएर निजी क्षेत्रले नै दोहोरो भूमिका खेलेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘इको टक’ कार्यक्रममा बोल्दै गभर्नर डा। नेपालले ब्याजदरको विषयमा उद्योगी व्यवसायीले नै दोहोरो भूमिका खेलेको औँल्याए । ‘बैंक तपाईंहरूकै हो, ऋणी पनि तपाईंहरू नै’ उनले भनेका थिए, ‘अनि तपार्इंहरू नै ब्याजदर उच्च भयो भन्नुहुन्छ, म के भनैँ रु ।’ अधिकांश उद्योगी व्यवसायीहरूनै बैंकका सञ्चालकसमेत रहेको औँल्याउँदै गभर्नर नेपालले दोहोरो भूमिकामा भएकाले समाधान खोज्नसमेत आग्रह गरेका थिए । नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी