काठमाडौँ, २२ साउनः वाणिज्य तथा विकास बैंकहरूमध्यै आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो संस्था कामना सेवा विकास बैंक बनेको छ। बैंकको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा साउन २२ गते शुक्रबार अपराह्न बसेको सञ्चालक समितिको ४१९ औँ बैठकले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार सञ्चालक समितिले साधारण शेयरधनीहरूका लागि कर प्रयोजन समेत गरी कुल १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसै गरी अग्राधिकार शेयरधनीहरूका लागि भने शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिलाई आधार मानी आनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ।
प्रस्तावित यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी २० औँ वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बोनस शेयर र नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष चुक्ता पूँजीको पूरै हिस्सा नगदमा दिने प्रस्ताव गरेको हो। आर्थिक वर्ष सकिएको तीन साताभित्रै वित्तीय विवरण चुस्त राख्दै लाभांश घोषणा गरेर कामना सेवा विकास बैंकले पूँजी बजारमा अग्रसरता देखाएको छ।
कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा र सञ्चालन आम्दानीमा बलियो सुधार देखाएसँगै छिटो लाभांश घोषणा गर्न सफल भएको हो। बैंकको प्रतिसेयर आम्दानी (EPS) र खुद नाफामा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा बैंकले १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बोनस सेयरको साटो पूरै नगद लाभांश प्रस्ताव गरिएकाले लगानीकर्ताको हातमा नगद प्रवाह (Cash Flow) सिधै पुग्ने देखिन्छ।
वित्तीय क्षेत्रमा सुस्तता कायम रहेकै समयमा आर्थिक वर्ष सकिएको तीन साताभित्रै लाभांश घोषणा गरेर कामना सेवा विकास बैंकले पूँजी बजारमा नयाँ उत्साह थपेको विश्लेषकहरूको भनाइ छ।