काठमाडौँ, २२ साउनः रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानीकोष’ अन्तर्गत सञ्चालित ‘रिलायबल समृद्धि योजना–२’ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्।
नेप्सेमा २०८३ साउन २२ गते शुक्रबार उक्त फण्डका इकाइहरू सूचीकृत भएका हुन्। सूचीकृत भएसँगै उक्त योजनाका इकाइहरूको दोस्रो बजारमा खरिदबिक्री २०८३ साउन २५ गतेदेखि सुरु हुनेछ।
नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको यस योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ असार ४ गते सम्पन्न भएको थियो।
१० वर्षको अवधि रहेको यस बन्दमुखी (Closed-ended) सामूहिक लगानी कोषको कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ, जसअन्तर्गत प्रतिइकाइ अङ्कित मूल्य रु. १० दरका कुल १२ करोड ५० लाख इकाइहरू रहेका छन्।
रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्ताहरूलाई दीर्घकालीन पूँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ।