काठमाडौँ। समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जना बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सीईओ शाह, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार फरार सूचीमा रहेका उनीहरूलाई नियन्त्रणमा लिई शुक्रबार नै थप कारबाहीका लागि उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।
राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गरी आफ्नै व्यवस्थापन टोली परिचालन गरेको थियो। सोही व्यवस्थापन टोलीका तर्फबाट जुगल किशोर कुशहवाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएर मुद्दा दायर गरेको हो। सुरुमा पक्राउ नगरी अनुसन्धान अघि बढाइए पनि अहिले उनीहरूलाई नियन्त्रणमा लिएर अदालत बुझाइएको प्रहरीले जनाएको छ।