काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैर-बैंकिङ वित्तीय संस्था हुलास फिनसर्फ हायर पर्चेज लिमिटेड (HFL) ले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) मा वित्तीय कार्यसम्पादनमा उल्लेख्य सुधार गर्दै रु. ३९ करोड ८७ लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको रु. २१ करोड ६१ लाखको तुलनामा ८४.४५ प्रतिशतको उच्च वृद्धि हो।
नेपालको ‘इन्स्टा फाइनान्स’ क्षेत्रमा अग्रणी स्थानमा रहेको हुलास फिनसर्फले समग्र वित्तीय क्षेत्रमा सुस्त कर्जा प्रवाह र सम्पत्तिको गुणस्तर व्यवस्थापनमा चुनौती देखिएका बेला पनि वित्तीय परिसूचकहरूमा बलियो उपस्थिति जनाएको छ। गोल्छा ग्रुपद्वारा प्रवर्द्धित यो कम्पनी प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रक्रियामा समेत रहेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा खुद ब्याज आम्दानी ११९.२८ प्रतिशतले बढेर रु. ४८ करोड ४६ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी रु. २२ करोड १० लाख मात्र थियो। यसैगरी, कम्पनीको सञ्चालन नाफा पनि रु. ३३ करोड ५२ लाखबाट बढेर रु. ६१ करोड ४६ लाख पुगेको छ।
सवारी साधन कर्जा (अटोमोबाइल फाइनान्सिङ) क्षेत्रको मुख्य योगदानका कारण कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले विस्तार भई रु. १२ अर्ब २२ करोड पुगेको छ।
जोखिम व्यवस्थापन र कर्जा असुलीमा आक्रामक रणनीति अपनाएका कारण कम्पनीले निष्क्रिय कर्जा (NPL) अनुपात ३.४० प्रतिशतबाट घटाएर १.८७ प्रतिशतमा झार्न सफल भएको छ। साथै, सम्भावित कर्जा नोक्सानी व्यवस्था (Provision Coverage) ९२.३४ प्रतिशत पुर्याएको छ।
वित्तीय नतिजा अनुसार कम्पनीको कुल सम्पत्ति रु. १२ अर्ब ६४ करोड र कुल इक्विटी रु. १ अर्ब ८९ करोड पुगेको छ। प्रतिसेयर आम्दानी (EPS) रु. २६.०४ बाट बढेर रु. ४८.०४ पुगेको छ भने सेयरधनी कोषमा प्रतिफल (ROE) २१.१२ प्रतिशत कायम भएको छ। कम्पनीको कोषको लागत (Cost of Funds) घटेर ५.७७ प्रतिशतमा झरेको छ भने ब्याजदर स्प्रेड ३.३९ प्रतिशतमा सुध्रिएको छ।
कम्पनीले व्यवसाय विस्तार, सञ्चालन दक्षता, कुशल जोखिम व्यवस्थापन र प्रभावकारी असुली रणनीतिका कारण यो सफलता सम्भव भएको जनाएको छ। आगामी दिनमा पनि सम्पत्तिको गुणस्तर सुदृढीकरण र पोर्टफोलियो विविधीकरणमा जोड दिँदै लगानीकर्ताको हित संरक्षण गर्ने हुलास फिनसर्फले बताएको छ।