काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले देशको प्राथमिक पूँजी बजार (Primary Capital Market) को दीर्घकालीन विकास, सुदृढीकरण र पारदर्शिताका लागि महत्वपूर्ण कदम चाल्दै ‘श्वेतपत्र (White Paper) २०८३’ सार्वजनिक गरेको छ।
बोर्डले प्राथमिक सेयर निष्कासन (IPO/FPO) प्रक्रियालाई थप प्रविधिमैत्री, पारदर्शी, प्रतिस्पर्धी र भरपर्दो बनाउन आगामी १० वर्षका लागि रणनीतिक खाकासहितको श्वेतपत्र ल्याएको हो। धितोपत्र बजारमा पछिल्लो समय सर्वसाधारण लगानीकर्ताको आकर्षण बढ्दै गएको अवस्थामा उनीहरूको हित संरक्षण गर्नुका साथै कम्पनीहरूलाई पूँजी सङ्कलनका लागि थप सहज वातावरण बनाउने लक्ष्य बोर्डले लिएको छ।
सार्वजनिक गरिएको श्वेतपत्रमा प्राथमिक सेयर निष्कासनको स्वीकृत प्रक्रियालाई छिटो-छरितो र प्रविधिमा आधारित बनाउने, निष्कासन गर्ने कम्पनीहरूको वित्तीय पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने तथा नयाँ-नयाँ वित्तीय औजारहरू (Financial Instruments) बजारमा भित्र्याउनेजस्ता महत्वपूर्ण विषयहरू समावेश गरिएका छन्। यसैगरी, निष्कासन प्रक्रियामा हुनसक्ने अवाञ्छित चलखेल रोक्न नियमन र अनुगमन प्रणालीलाई थप कडा बनाइने बोर्डले स्पष्ट पारेको छ।
धितोपत्र बोर्डका अनुसार यो १० वर्षे रणनीतिक खाकाको कार्यान्वयनसँगै नेपाली पूँजी बजारको प्राथमिक निष्कासन प्रक्रिया थप व्यवस्थित र संस्थागत हुनुका साथै साना तथा सर्वसाधारण लगानीकर्ताको लगानी थप सुरक्षित र प्रतिफलमुखी बन्न सहयोग पुग्नेछ।